महालक्ष्मी नगरपालिका
महालक्ष्मी नगरपालिका
ज्येष्ठ नागरिक सम्मान तथा स्वास्थ्य सेवा शुभारम्भ कार्यक्रम
३१ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा “बा आमाको सेवा, स्वास्थ्य उपचारमा टेवा” भन्ने नाराका साथ मिति २०७८ असोज १४ गते नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूको अध्यक्षतामा “ज्येष्ठ नागरिक सम्मान तथा स्वास्थ्य सेवा शुभारम्भ कार्यक्रम” सम्पन्न भयो । उपस्थित ज्येष्ठ नागरिकमध्ये सबैभन्दा ज्येष्ठ श्री हेमकुमारी विष्टको विशेष आतिथ्यता रहेको उक्त कार्यक्रममा नगर उपप्रमुख श्री निर्मला थापाज्यू, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा, वडा नं १, २, ३, ५, ६, ८ र ९ का वडा अध्यक्षहरू, कार्यपालिका सदस्य र नगरसभा सदस्यहरू, प्रमुख शिक्षा अधिकृत चिरञ्जीवी पौडेलसहित नगरपालिकाका कर्मचारी र स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन वडा नं १ का वडा अध्यक्ष श्री नन्द कुमार न्यौपानेले गर्नु भएको थियो । आजको कार्यक्रममा १० वटै वडाका २ जना ज्येष्ठ पुरुष र २ जना ज्येष्ठ महिला गरी ४० जना ज्येष्ठ नागरिकहरूको मेडिकल अधिकृतको नेतृत्वमा स्वास्थ्यकर्मीहरूबाट रक्तचाप, मधुमेह, नाडीको गति, अक्सिजन लेभल लगाएतका सामान्य स्वास्थ्य परीक्षण पश्चात आवश्यक औषधी वितरण गरी ज्येष्ठ नगारिक स्वास्थ्य सेवा कार्यक्रमको शुभारम्भ गरियो । कार्यक्रममा उपस्थित ज्येष्ठ नागरिकहरूलाई खादा र कम्वल वितरण गरी नगर प्रमुखज्यू र उपप्रमुखज्यूबाट सम्मान गरिएको थियो । कार्यक्रममा नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूले "बा आमाको सेवा, स्वास्थ्य उपचारमा टेवा" भन्ने नाराका साथ ७० वर्ष नाघेका जेष्ठ नागरिकहरुका लागि प्रत्येक महिना घरदैलोमै गई रक्तचाप, मधुमेह, अक्सिजनको मात्रा जस्ता सामान्य स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि वितरण गरिने भन्ने महालक्ष्मी नगरपालिका ललितपुरको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बमोजिम ज्येष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रम आजबाट शुभारम्भ भएको घोषणा गर्नुभयो । उहाँले ज्येष्ठ नागरिक समाजको आदरणीय अङ्ग हुनुभएकाले उहाँहरूप्रति सधै सबैले उच्च सम्मान प्रकट गर्नुपर्नेमा जोड दिनुभयो र नगरका सबै ज्येष्ठ नागरिकको प्रतिनिधित्व गर्दै कार्यक्रममा उपस्थित हुनुहुने सम्पूर्ण ज्येष्ठ नागरिकहरूप्रति हार्दिक कृतज्ञता प्रकट गर्नुका साथै उहाँहरूको दिर्घायु र सुस्वास्थ्यको कामना गर्नुभयो । त्यसैगरी कार्यक्रममा नगर उप्रमुख श्री निर्माला थापाज्यू, सबै वडा अध्यक्षहरूको प्रतिनिधित्व गर्दै वडा नं ९ का वडा अध्यक्ष श्री वासुदेव शर्मा गौतमले शुभकामना मन्तब्य राख्नुभयो भने कार्यक्रमको मर्म र उद्देश्यमाथि प्रमुख प्रशासकीय अधिकृत श्री पुरुषोत्तम सापकोटाले प्रकाश पार्नुभयो । यससँगै ज्येष्ठ नागरिक स्वास्थ्य सेवा अन्तर्गत नगरका प्रत्येक ज्येष्ठ नागरिकहरूको हरेक महिना घरदैलोमै गई रक्तचाप, मधुमेह, अक्सिजनको मात्रा जस्ता सामान्य स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि वितरण गर्ने गरी महालक्ष्मी नगरपालिकाको नियमित स्वास्थ्य सेवाका रूपमा सञ्चालन गरिनेछ ।