महालक्ष्मी नगरपालिका
महालक्ष्मी नगरपालिका
१. व्यक्तिगत घटना दर्ता के हो ?
उत्तर: व्यक्तिको जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद तथा बसाईँसराईँ जस्ता मानिसका आफ्ना निजी घटना स्थानीय पञ्जिकाधिकारीकोमा गई दर्ता गराउने र प्रमाणपत्र लिने कार्यलाई व्यक्तिगत घटना दर्ता भनिन्छ ।
२. व्यक्तिगत घटना दर्ता गर्नु जरुरी छ छैन ?
उत्तर: जरुरी छ । व्यक्तिले राज्यबाट पाउने सेवा सुविधा र हक स्थापनाका गर्न कानून बमोजिम गर्ने व्यवहारका लागि व्यक्तिगत घटना दर्ताका प्रमाणपत्र जरुरी हुन्छ ।
३. व्यक्तिगत घटना दर्ता कहाँ गरिन्छ ?
उत्तर: सम्बन्धित व्यक्ति स्थायी बसोबास गरेको गाउँ विकास समिति वा नगरपालिका ।
४. व्यक्तिगत घटना कसले गर्दछ ?
उत्तर: स्थानीय पञ्जिकाधिकारीले ।
५. स्थानीय पञ्जिकाधिकारी कसलाई भनिन्छ ?
उत्तर: (क) नगरपालिकाहरुका हकमा वडा सचिव र वडा सचिव नभएको अवस्थामा पञ्जिकाधिकारी (रजिस्ट्रार) को सहमतिमा नगरपालिकाको सचिवले तोकेको स्थानीय निकायको कर्मचारी,
(ख) गाउँ विकास समितिको हकमा गाविस सचिव र गाविस सचिव नभएको अवस्थामा पञ्जिकाधिकारी (रजिस्ट्रार) ले तोकिदिएको स्थानीय निकायको कर्मचारी |
६. व्यक्तिगत घटना दर्ताको लागि सूचक को हुन्छ ?
उत्तरः व्यक्तिगत घटना दर्ताको लागि देहाय बमोजीमका सूचक हुन सक्दछन् ।
व्यक्तिगत घटना |
सूचक बन्न सक्ने व्यक्ति |
जन्म |
- बुवा–आमा, बाजे वा परिवारको मुख्य व्यक्ति र निजको अनुपस्थितिमा परिवारकोउमेर पुगेको व्यक्ति, - धर्मपुत्र पुत्रीको जन्म दर्ता गर्न कानून बमोजिम पारित लिखत समेत राखी धर्मपुत्र वाधर्मपुत्री राख्ने बाबु वा आमाले, - बाबु आमा र वंशजतर्फ कोही पनि नभएकाको हकमा सम्बन्धित वडा सदस्यको सिफारिशको आधारमा सम्बन्धित गाविसको अध्यक्ष वा उपाध्यक्ष र निजहरुको पद रिक्त भएको अवस्थामा गाविस सचिव र नगरपालिकाको क्षेत्रभित्रको व्यक्तिको हकमा सम्बन्धित वडा सदस्यको सिफारिशको आधारमा सम्बन्धित नगरपालिकाको प्रमुख वा उपप्रमुख र निजहरुको पद रिक्त भएको अवस्थामा सम्बन्धित वडा सचिवको सिफारिशको आधारमा कार्यकारी अधिकृत र वडा सचिवको व्यवस्था नभएको नगरपालिकाको हकमा कार्यकारी अधिकृत ।
|
मृत्यु |
- परिवारको मुख्य व्यक्ति र निजको अनुपस्थितिमा परिवारको उमेर पुगेको व्यक्ति, - आमा बाबुको मृत्यु भएको सूचना दिने कर्तव्य भएको व्यक्ति नभएको अवस्थामा विवाहित छोरी समेत, - विवाहित दिदी बहिनीको मृत्युका सम्बन्धमा वंशज तर्फ कोही पनि नभएको प्रमाणित भएको खण्डमा माईती तर्फका दाजु भाई समेत, - बाबु आमा र वंशजतर्फ कोही पनि नभएकाको हकमा सम्बन्धित वडा सदस्यकोसिफारिशको आधारमा सम्बन्धित गाविसको अध्यक्ष वा उपाध्यक्ष र निजहरुको पदरिक्त भएको अवस्थामा गाविस सचिव र नगरपालिकाको क्षेत्रभित्रको व्यक्तिकोहकमा सम्बन्धित वडा सदस्यको सिफारिशको आधारमा सम्बन्धित नगरपालिकाकोप्रमुख वा उपप्रमुख र निजहरुको पद रिक्त भएको अवस्थामा सम्बन्धित वडा सचिवको सिफारिशको आधारमा कार्यकारी अधिकृत र वडा सचिवको व्यवस्था नभएकोनगरपालिकाको हकमा कार्यकारी अधिकृत ।
|
विवाह |
- पति वा पत्नी मध्ये कुनै एक (तर अदालतले सम्बन्ध विच्छेदको फैसला गरेको कागजात जरुरी हुन्छ । - दौत्य सम्बन्ध भएको मुलुकको अदालतमा सम्बन्ध विच्छेद गर्ने नेपाली नागरिकको हकमा राजदुतावासबाट प्रमाणित अदालतको फैसलाको आधारमा पति वा पत्नीले,
|
सम्बन्ध बिच्छेद |
- पति वा पत्नी मध्ये कुनै एक (तर अदालतले सम्बन्ध विच्छेदको फैसला गरेकोकागजात जरुरी हुन्छ । - दौत्य सम्बन्ध भएको मुलुकको अदालतमा सम्बन्ध विच्छेद गर्ने नेपाली नागरिकको हकमा राजदुतावासबाट प्रमाणित अदालतको फैसलाको आधारमा पति वा पत्नीले, |
बसाईसराइ |
- परिवार सबै बसाईसराइ गर्ने भए परिवारको मुख्य व्यक्तिले - व्यक्ति एक्लै बसाइँ सराईँ गर्ने भए व्यक्ति स्वयम्ले । |
७. बाबुको ठेगाना नभएका बच्चाको आमाको नामबाट जन्म दर्ता गर्न मिल्दछ ?
उत्तर : मिल्दछ । बाबुको ठेगान नभएका बच्चाको जन्मदर्ता गर्न सूचना फारामको बाबुको विवरणको महलमा ठेगान नभएको व्यहोरा लेखि आमा सूचक बनि जन्मको घटना दर्ता गर्न सकिन्छ ।
८. आमा र बुवा दुवै नभएका बच्चाको जन्मदर्ता गर्न मिल्दछ ?
उत्तर : मिल्छ । विस्तृत जानकारी प्रश्न ६ को सूचकको महलमा उल्लेख छ ।
९. मावली हजुरबुवा वा हजुरआमा पनि सूचक हुन सक्दछन ?
उत्तर : सक्दैनन् ।
१०. विदेशी नागरिकको जन्म दर्ता गर्न मिल्दछ ?
उत्तर: बच्चा नेपालमा जन्मेको हो भने मिल्छ ।
११. नेपाली आमाबाट विदेशमा जन्मी बाबुको पत्ता नलागेको बच्चाको जन्म दर्ता गर्न मिल्दछ ?
उत्तर : मिल्दछ । यसो गर्दा बालकको जन्म दर्ता गर्दा प्रमाणपत्रमा नेपाली राजदुतावास वा महावाणिज्य दुतावासले उपलब्ध गराएको TRAVEL DOCUMENT मा उल्लेखित विवरण (जस्तै जन्म स्थान, देश र जन्म मिति) उल्लेख गर्नु पर्दछ । यसबाहेक जन्म दर्ता प्रमाणपत्रमा विदेशी हो भने विदेशी र थाहा नभएको अवस्थामा थाहा नभएको उल्लेख गर्नु पर्दछ ।
१२. के कारागारमा जन्मेका÷रहेका बच्चाको पनि जन्म दर्ता गर्न मिल्दछ ?
उत्तर : कारागारमा जन्मेका-रहेका बालबालिकाको कारागारमा रहेको व्यहोरा प्रमाणित भई आए बमोजिम जन्म दर्ता गर्न मिल्दछ ।
१३. के शैक्षिक प्रमाणपत्रको आधारमा जन्म मिति सच्याउन सकिन्छ ?
उत्तर : सकिन्छ । तर एस.एल.सी. उत्तीर्ण भएको मितिले ६ महिना नाघेको अवस्थामा मात्र एस.एल.सी. को लव्धाकं पत्र र विद्यालयले दिएको चारित्रिक प्रमाणपत्रको आधारमा जन्म मिति सच्याउन सकिने व्यवस्था रहेको छ । एस. एल. सी. उत्तिर्ण भएको ६ महिनाभित्र जन्म दर्ता प्रमाणपत्रको आधारमा एस. एल. सी बार्डले शैक्षिक प्रमाणपत्रमा विवरण सच्याई दिने व्यवस्था रहेको छ ।
१४. बाबुआमा नभएका व्यक्तिको पालनपोषण गर्ने व्यक्ति सूचक बनी जन्म दर्ता गर्न मिल्दछ ?
उत्तर: मिल्दैन । यसमा प्रश्न ६ को सूचकको महलमा उल्लेख भए बमोजिम स्थानीय निकायका पदाधिकारीले सूचक बस्नु पर्ने हुन्छ ।
१५. विदेशी नागरिकको मृत्यु दर्ता गर्न मिल्दछ ?
उत्तर: मिल्दछ ।
१६. विदेशी नागरिकको मृत्यु दर्ता गर्न को सूचक हुन्छ र के के कागजातको आवश्यकता पर्दछ ?
उत्तर : सम्बन्धित देशको राजदुतावास वा नियोगले प्रमाणित गरिदिएको सूचक वा आधिकारिक व्यक्तिले सूचक हुन पाउँछ । यसका लागि निम्नानुसारको थप कागजात समेत चाहिन्छ । क. मृत्यु भएको अस्पताल वा प्रहरी प्रतिवेदन, ख. सम्बन्धित देशको राजदुतावासको सिफारिस वा कुनै कार्यालय वा योजनामा कार्यरत रहेको भए प्रमुखको रितपूर्वकको पत्र ।
१७. विदेशी नागरिक र नेपाली नागरिक बीच भएको विवाह दर्ता गर्न मिल्दछ ?
उत्तर : मिल्दछ । विदेशी नागरिक र नेपाली नागरिक बीच भएको विवाह मुलुकी देवानी (संहिता) ऐन, २०७४ बमोजिम प्रदत्त विवाहको प्रमाण देखिने कागजातको आधारमा मात्र दर्ता गर्न सकिन्छ । विदेशीको हकमा विदेशी पासपोर्ट नम्बर उल्लेख गर्नुपर्दछ।
१८. नेपाली पुरुष र भारतीय महिलाबीच भएको विवाह दर्ता गर्न के गर्नु पर्दछ ?
उत्तर : यस्तो विवाह दर्ता गर्न मुलुकी देवानी (संहिता) ऐन, २०७४ अनुसार गर्नु पर्दछ र विवाह दर्ता प्रमाणपत्रमा पत्नीको नागरिकता नम्बरको महलमा भारतीय पासपोर्ट नम्बर वा भारतीय नागरिक जनिने विवरण उल्लेख गर्नु पर्दछ ।
१९. वेपत्ता भएका नागरिकको विवाह दर्ता गर्न के गर्नुपर्दछ ?
उत्तर : वेपत्ता भएको आधिकारिक प्रमाण, विवाहित महिलाको सासू वा ससुरा वा देवर वा जेठाजु भएमा निजहरुमध्ये १ जना समेत कम्तीमा ५ जना भएको स्थलगत सर्जमिन मुचुल्काको आधारमा वेपत्ता भएका नागरिकको विवाह दर्ता गर्न सकिन्छ ।
२०. पतिले विवाह दर्ता गर्न इन्कार गरेको खण्डमा के गर्नुपर्दछ ?
उत्तर : पतिले विवाह दर्ता गर्न ईन्कार गरेमा नाता कायम भएको प्रमाणपत्र वा नाता कायमबारे अदालतको फैसलाको आधारमा विवाह दर्ता गर्नुपर्दछ ।
२१. के विदेशमा सम्बन्ध बिच्छेद भएकाको दर्ता नेपालमा गर्न मिल्दछ ?
उत्तर : दौत्य सम्बन्ध भएको मुलुकको अदालतमा सम्बन्ध विच्छेद गर्ने नेपाली नागरिकको हकमा नेपाली राजदुतावास/महावाणिज्यदुतावासबाट प्रमाणित अदालतको फैसलाको आधारमा दर्ता गर्न मिल्दछ ।
२२. सम्बन्ध विच्छेद दर्ता कहाँ गर्नुपर्दछ ?
उत्तरः सम्बन्ध विच्छेदको घटना दर्ता पतिको स्थायी ठेगाना गर्नुपर्दछ ।
२३. विवाह दर्ता गर्न जन्म दर्ता आवश्यक छ छैन?
उत्तरः छैन । तर पति–पत्नीको व्यक्तिगत विवरण विवाह दर्ता एवं जन्म दर्ता प्रमाणपत्रहरुमा फरक नपरोस भनी सुनिश्ति गर्नका लागि आवश्यक पर्न सक्छ ।
२४. बसाईँ सराईँ दर्ता गर्दा घरजग्गा हुनु आवश्यक छ छैन ?
उत्तरः मृत्यु तथा अन्य व्यक्तिगत घटना दर्ता गर्ने ऐन, २०३३ को दफा २ को आशय बमोजिम ६ महिना भन्दा बढी अवधिदेखि सो ठाउँमा बसोबास गरेका छन् छैनन भन्ने हेर्ने आधार आवश्यक पर्छ ।
२५. मतदाता परिचयपत्र भएको तर बसाईँ सराईँ नभएको व्यक्ति र परिवारसँग सम्बन्धित घटना दर्ता कहाँ गर्ने ?
उत्तर : मतदाता परिचयपत्र पाउने र व्यक्तिगत घटना दर्ता दुई अलग अलग कानून अनुसार हुने हुँदा व्यक्तिगत घटना दर्ता सम्बन्धित व्यक्तिको स्थायी ठेगाना भएको स्थानको पञ्जिकाधिकारीबाट हुनु पर्छ । मतदाता परिचयपत्र भएकै स्थानमा दर्ता गर्ने चाहना हो भने पहिले सेवाग्राहीले बसाईँ सराईँ गराउनु पर्छ ।
२६. व्यक्तिगत घटना दर्ता गर्दा नागरिकताको प्रमाणपत्र आवश्यक हुन्छ हुँदैन ?
उत्तरः प्रमाणपत्रमा नागरिकता नं. उल्लेख हुनु पर्छ । जस्तै :– जन्म दर्तामा बाबु र आमाको, मृत्यु दर्तामा मृतकको, विवाह दर्तामा पति र पत्नीको, सम्बन्ध विच्छेद दर्तामा दर्ता माग गर्ने पति वा पत्नीको र बसाईँ सराईँमा सूचकको । त्यस्तै व्यक्तिगत घटना दर्ता नेपालमा बसोबास गर्ने विदेशीका लागि पनि भएकोले नागरिकताको सट्टा विदेशी नागरिकको पासपोर्ट नम्बर उल्लेख गर्नु पर्छ ।
२७. पहिले जारी भएको प्रमाणपत्रको प्रतिलिपि माग गरेको अवस्थामा नयाँ ढाँचामा प्रतिलिपि दिने मिल्छ वा मिल्दैन ?
उत्तर: मिल्दछ । सामान्यतया अँगे्रजी भाषामा समेत प्रमाणपत्र लिने प्रयोजनका लागि सेवाग्राहीले यस्तो माग गर्न सक्छन् । स्थानीय पञ्जिकाधिकारीले यस्तोमा पुरानो प्रमाणपत्र कार्यालयको अभिलेखमा रहने गरी खिची लिने र अँगे्रजी तथा नेपाली दुवै भाषा भएको प्रमाणपत्रको प्रतिलिपि प्रदान गर्नु पर्छ ।
२८. स्थानीय पञ्जिकाधिकारीको दस्तखत नभएको प्रमाणपत्रको कसैले नक्कल माग गरेको अवस्थामा के गर्ने ?
उत्तरः यस्तो अवस्थामा दर्ता किताप हेरी एवं तत्कालिन पञ्जिकाधिकारीको दस्तखतको नमूना समेत भिडाई जारी गर्ने अधिकारीको नाम कतै उल्लेख भएको पाईएमा नाम समेत राखी प्रमाणपत्र दिने । दर्ता कितापबाट पनि नाम पत्ता नलागेमा तर प्रमाणपत्रमा उल्लेखित सबै व्यहोरा दुरुस्त भएको अवस्थामा स्थानीय पञ्जिकाधिकारीको नाम, थरको ठाउँमा “द.” मात्र लेख्ने । प्रमाणपत्रको प्रतिलिपि जारी गर्र्दा पञ्जिकाधिकारीको नाम, थर, र मिति राखी दस्तखत समेत गरी प्रमाणित गर्ने ।
२९. नेपाली र अंग्रेजी भाषामा प्रमाणपत्र जारी गर्दा कुन भाषामा दस्तखत गर्ने ?
उत्तरः यसमा दुई अलग अलग दस्तखत गर्न हुँदैन । कार्यालय दैनिक प्रयोजनमा जे दस्तखत गरिन्छ, त्यही दस्तखत नेपाली र अँग्रेजी दुवै व्यहोराको अन्त्यमा गर्नु पर्छ ।